By Sappan K.C.
२४सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा माओवादीबाट टुक्रिएर गएको तराई जनतान्त्रिक मुक्ति मोर्चाका एकजना नेताले राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना सांसद तथा भूतपूर्वमन्त्री कृष्णचरण श्रेष्ठको सिराहा जिल्लामा शनिवार विहान भएको हत्याको जिम्मेवारी दावी गरेका प्राप्त समाचारहरुमा जनाइएको छ।
यसै क्रममा समाचारहरुमा उल्लेख भए अनुसार,प्रतिनिधि सभाका सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कृष्णचरण श्रेष्ठको शनिवार विहान गोली हानी हत्या भएको छ। सिराहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर तीनका सांसद श्रेष्ठको बचाउ गर्ने क्रममा एकजना सर्वसाधारणको पनि मृत्यु भएको छ। अन्य चार जना घाइते भएका बताइएको छ। हत्यामा संलग्न भनिएका दुइजना बन्दुकधारीको स्थानीय बासिन्दाको कुटपीटमा परि मृत्यु भएको बताइएको छ। माओवादीबाट टुक्रिएर गएको तराई जनतान्त्रीक मुक्ति मोर्चाका एकजना नेताले सांसद श्रेष्ठको हत्याको जिम्मेवारी दावी गरेका छन्। यसका साथै अज्ञात स्थलबाट टेलिफोनमा कुराकानी गर्दै तराई जनतान्त्रीक मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सो हत्यामा आफ्नो समूहको हात रहेको स्वीकार गरे। उनले सांसद श्रेष्ठले उनकै शव्दमा �तराईबासीलाई आर्थिक सामाजिक तथा राजनीतिक रूपमा शोषण गरेकाले� उनको हत्याको योजना लामो समय देखि गरिएको बताए। साथै गोइतले आफ्ना दुईजना कार्यकर्ताहरू सिराहा जिल्ला कमाण्डर बिहारी महतो र फौजी रूदल महतो मारिएको पुष्टी गरेका थिए। तराई क्षेत्रलाई बेग्लै राष्ट्रको मान्यता प्रदान गर्नुपर्ने माग गर्दै विद्रोहमा उत्रेको मोर्चाले पहिलो पटक यस प्रकारको हत्यमा संलग्न रहेको दावी गरेको समाचारहरुमा उल्लेख छ ।
त्यसैगरी समाचारहरुमा जनाइए अनुसार,सिराहाको सदरमुकाम नजिकैको बेलाहा गाउँमा बिहान करिब सात बजे �मर्निङ वाक� बाट फर्किने क्रममा सांसद श्रेष्ठलाई मोटरसाइकलमा सवार दुईजना कार्यकर्ताले नजिकैबाट गोली प्रहार गरेका थिए। उनको निधार र छातीमा दुई गोली लागेको सिराहा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पञ्चायतकाल देखि नै राजनीतिमा सकृय श्रेष्ठले यसअघि पटक पटक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी शुक्रवार सो गाउँमा गएका प्राप्त विवरणहरूमा जनाइएको छ। यसका साथै थाहा भए अनुसार ,उक्त हत्यापछि सिराहा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले हत्याको निन्दा गर्दै सांसदलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजिनामा माग गरेका छन्। सांसद श्रेष्ठलाई बचाउन खोज्ने एकजना सर्वसाधारणको पनि गोली लागेर मृत्यु भएको छ। सो हत्याको विरोधमा सिराहा बजार र यातायात बन्द गरिएको थियो। सिराहा जिल्लामा राजनीतिक नेताहरूको हत्या भएको यो पहिलो घटना होइन।यसअघि एमालेका नेता हेमनारायण यादव र नेपाली कांग्रेसका नेता चन्द्रनारायण यादवको पनि हत्या भएको थियो। तर ति दुवै हत्याको जिम्मेवारी हालसम्म कसैले पनि नलिएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।