१अगस्त२००६(एपी/एएफपी)-इजरेली वायु सेनाले लेबनानका दक्षिणी गाउँहरुमाथि आइतवार गरेको आक्रमणमा परी बाइसजना वालक लगायत जम्मा एकाउन्नजना मानिस मारिएको कुरा लेबनानका सञ्चार माध्यमहरुले जनाएका प्राप्त समाचारहरुमा जनाइएको छ।
यसका साथै सञ्चार माध्यमहरुमा जनाइए अनुसार,इजरेली सेनाको बम आक्रमणबाट काना गाउँका अनेकौं घर र सयौं मानिसहरुको बसोबास रहेको एउटा ठूलो भवन पनि क्षतिग्रस्त भएका छन। तर इजरेली सेनाले भने उक्त गाउँ हेजबुल्लाह सशस्त्र शक्तिको इजरेलमाथि आक्रमण गर्ने आधारमध्येको एक भएको दावी गरेको छ। त्यसरी उक्त गाउँमाथि आक्रमण गर्नुअघि इजरेली सेनाले गाउँ छोड्न बासिन्दाहरुलाई चेतावनी दिएको वताइएको छ। उक्त गाउँका धेरै मानिस हताहत भएपछि लेबनानका प्रधान मन्त्री फोद सेनिओराले इजरेली सेनाको कुमर्मको आलोचना गर्नुका साथै अविलम्ब र विना शर्त आक्रमण रोक्न आग्रह गर्नुभएको छ। त्यसैगरी उहाँले इजरेली सेनाद्बारा लेबनानमाथिको आक्रमण बन्द नगरुन्जेलसम्म लेबनानले इजरेलसँग कुनै खालको वार्ता नगर्ने कुरा वताउनुभएको छ। यसका साथै प्राप्त अर्को समाचारअनुसार, इजरेली सेनाले युद्ध-विराम गर्नुअघि कुनै पनि किसिमको वार्ता हुननसक्ने कुरा लेबनान सरकारले हाल मध्य-पूर्वको भ्रमणमा रहनुभएकी अमेरिकी परराष्ट्र मन्त्री राइसलाई स्पष्ट पारिसेकेको छ। तर इजरेली प्रधान मन्त्री इहुद ओल्मेर्टले भने लेबनानको दक्षिणी भागमा आफ्नो सैनिक उद्देष्य पूरा नहोउञ्जेल हेजबुल्लाहसँग युद्ध-विराम नगर्ने दृढता व्यक्त गर्नुभएको समाचारहरुमा जनाइएको छ ।
त्यस क्रममा थाहा भए अनुसार,इजरेलको प्रसिद्ध नगर तेल-अभिभमा हजारौं इजरेलीहरुले प्रदर्शन गरी लेबनान विरुद्धको सैनिक कारवाई अविलम्ब बन्द गरेर वार्तामार्फत समस्याको समाधान गर्न आफ्नो सरकारलाई अपिल गरेका छन। यसका साथै थाहा भए अनुसार, यस पटकको उक्त प्रदर्शन महिला संगठनहरुद्बारा आयोजना गरिएको हो। त्यसैगरी स्थानीय बासिन्दाहरुका अनुसार, उक्त प्रदर्शनमा सहभागी मानिसहरुको संख्याका दृष्टिकोणबाट हेर्दा यो इजरेलको इतिहासमा विरलै देखिने घटना भएको सञ्चार माध्यमहरुमा जनाइएको छ।
