३०जुलाई२००६(एपी/एएफपी)-लेवनान स्थित हेज्बोल्लाहका निशानाहरूमा इजरायली सेनाले हवाई तथा स्थल कारवाही जारी राख्दा अमेरिकी विदेशमन्त्री कण्डलिजा राइसले संकट समाधानका लागि नयाँ कूटनीतिक प्रयासका साथ मध्यपूर्वको भ्रमण गर्ने भएकी सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसका साथै सञ्चार माध्यमहरुमा जनाइए अनुसार,शुक्रवार राष्ट्रपति बुश र बृटिश प्रधानमन्त्री टोनी ब्लेयरले संघर्ष तत्काल अन्त्यगर्न आह्वान गर्नु भन्दापनि आफुहरूको उद्देश्य दिर्घकालिन समाधान फेलापार्नु रहेको बताएका थिए। यसैबीच लेवनानमाथि इजरायली आक्रमण र उत्तरी इजरायलमा हेज्बोल्लाहको रकेट हमला रोकिएको छैन। यो सप्ताहन्तमा हुने मध्यपूर्वको भ्रमणका क्रममा कण्डलिजा राइसले इजरायली तथा लेवनानी नेताहरूसित भेटघाट गर्न सक्ने संभावना छ। त्यस क्रममा राइसले आगामी साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बस्नु अघि लेवनानमा बहुराष्ट्रिय शान्तिस्थापक सैन्य दल पठाउने योजनाहरूबारे ति नेताहरूसित छलफल गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी तत्काल युद्धविराम हुने संभावना भने कमै देखिंदा हाल संघर्षको स्तर कत्तिपनि घटेको छैन। इजरायल सरकारका प्रवक्ता एभि पाज्नेरले तीनदिनका लागि अस्थायी युद्धविराम गर्न राष्ट्रसंघद्वारा गरिएको आह्वानलाई अस्वीकार गरेका समाचारहरुमा जनाइएको छ ।
त्यस क्रममा थाहा भए अनुसार,दक्षिणी लेवनानमा मानवीय सहायता पुग्न नसक्नुमा हेज्बोल्लाह दोषी रहेको उनले बताए। पाज्नरले दक्षिणी लेवनानमा खानेकुरा र चिकित्सा कर्मचारीहरूलाई कसरी पुर्र्याउने भन्ने कुरा नै प्रमुख विषय भएको बताए। त्यसैगरी उनले हेज्बोल्लाहले नियोजित रूपमा दक्षिणी लेवनानमा राहत सहायता लैजान रोकिरहेको आरोप लगाए। इजरायली सेनाले पुलहरू, अस्त्र भण्डार क्षेत्र र हेज्बोल्लाहको भवनका हाताहरूलाई निशाना तुल्याईएको जनाएको छ। यसका साथै शनिवार विहान उत्तरी इजरायलको सफिद नगरमा हेज्बोल्लाहहरूले प्रहार गरेका रकेटहरूको मार परेको थियो। त्यसैगरी विगत २४ घण्टामा इजरायलमाथि ११० वटा रकेटहरू प्रहार भैसकेको प्राप्त समाचारहरुमा जनाइएको छ।
