२९जुलाई२००६(एजेन्सीहरु)-नेपालमा सरकारले आठ-बूँदे सहमति लागू नगरेको भनि त्यसप्रति असन्तुष्टी व्यक्त गर्दै आएका माओवादी विद्रोहीहरूले शुक्रबार समाप्त युद्धविरामलाई हालका लागि थप तीन महिना मात्र लम्ब्याउने निर्णय गरेका प्राप्त समाचारहरुमा जनाइएको छ।

त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,माओवादी विद्रोहीहरूले तीन महिनाअगाडी घोषणा गरेका युद्धविराम अरू तीन महिना लम्ब्याएका छन्। शान्ति र परिवर्तनका निम्ती मानिसहरूको चाहनालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको शीर्षस्थ माओवादी नेता प्रचण्डले जनाएका छन्। सरकारले चाहिं आफ्नो तर्फबाट तीन महिनाअगाडी नै अनिश्चितकालका लागि युद्धविराम घोषणा गरेको थियो। यसका साथै नेपालको शान्ति प्रकृयामा सघाउन राष्ट्रसंघीय टोली काठमाण्डौंमा रहेका बेला सकिएको माओवादी विद्रोहीहरूले युद्धविराम लम्ब्याउने अनुमान धेरैले गरेका थिए। तर तीन महिनाका लागि मात्रै युद्धविराम थप गर्ने घोषणाले चाहिं हाल जारी शान्ति प्रकृयाप्रति माओवादीहरू ढुक्क हुन नसकेको देखिएको छ। त्यस क्रममा उनीहरूको त्यो आशंका नेकपा माओवादीका अध्यक्ष प्रचण्डको शुक्रबारको बक्तव्यमा प्रष्टै झल्केको छ। उनले ४०० शब्दको आफ्नो बक्तव्यको अधिकांश हिस्सा सातदलीय सरकार र पुन:स्थापीत संसदको कडा आलोचना गर्न खर्चेका छन्। युद्धविरामको पहिलो तीन महिनाको मुख्य उपलब्धी आठ-बूँदे सहमति भएको बताउँदै प्रचण्डले उक्त समझदारी लागू गर्न सरकार इमानदार नभएको आरोप लगाएका समाचारहरुमा उल्लेख छ ।

त्यस क्रममा प्राप्त समाचार अनुसार, उनले सरकार र संसद विदेशी शक्तिकेन्द्रहरूको दवाव र इशाराबाट निर्देशित भएको बताएपनि त्यस्ता विदेशी शक्तिकेन्द्रहरूको नाउं चाहिं किटेनन्। पुन:स्थापीत संसद र माओवादी जनसरकारको विघटन एवम् नेपाली सेना र माओवादी सेनाको हतियार व्यवस्थापनमा राष्ट्रसंघको सहयोग आठ-बूँदे सहमतिका मुख्य प्रावधान थिए। ति दुवै विषयमा अहिलेसम्म सरकार-माओवादी शान्ति वार्ता अल्झिएको छ। सहमतिका बुंदाबारे परस्पर विरोधी व्याख्या र अडानले गर्दा कुरा अगाडी बढ्न सकेको छैन। साथै यसकालागी सरकारले माओवादीहरूको अर्घेल्याईं देखेको छ भने माओवादीहरूले सरकारको नियतमा प्रश्न उठाएका छन्। यसका साथै थाहा भए अनुसार,माओवादी अध्यक्ष प्रचण्डले शुक्रवारको आफ्नो बक्तव्यमा सरकारलाई दवाव दिन थप गरिएको युद्धविरामको अवधिभित्र सशक्त तर शान्तिपूर्ण जनआन्दोलन गर्ने चेतावनी दिएका सञ्चार माध्यमहरुमा जनाइएको छ।