- शकुन्तला जोशी

बेखबर तिम्रो संझनाहरुले बिथोलिएर
आफैंभित्र हिउँ खसेर जम्ने
प्रयत्नमा पग्लिएको यो तरल घडी
किन चियायो सुटुक्क
घामका पातला रेशाहरुले
बन्द झयालका खापाहरुबाट

हिजो भर्खरै आँखाभरि सजिएको हिमाल
हिमालभरि फैलिएको सुदुर उज्यालो क्षितिज
जीवनका भरोसाहरु बोकेर
दक्षिण हेलिएका सारशका बथानहरु हेर्र्दै
साँच्चै मनले बुनेको
एउटा रहरको मफलर
कसरी उधार्न सक्यौ यस्तरी
ध्वार्र-ध्वारी मेरो मनजस्तै
एउटा घुम्ति पनि नछिचोल्दै सहयात्राको

झिक्नै नमिल्ने मेरो आ“खाभित्रको आँखाबाट
फुक्त निस्केर कुन गल्लिको बाटो समात्यौ
र काँडा बिझायौ सुकोमल पाइतालाहरुमा -
चस्चस् मेरो छातिमा बिझाएर
तिम्रो पिडाले छट्पटाइरहेको
बेदर्द यो रात,
मेरै अगाडि टुप्लुक्क
किन खस्यो होला यो जून पनि -
लाग्छ,
उस्तै-उस्तै हुँदोरहेछ
दुखाईको रन्को अर्थात्
एउटा प्रियतम् हराउनुको मनको यातना
मेरो होस् या जूनको …………. ।

- पाँचथर