नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को प्रेस विज्ञप्ती
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस वक्तव्य
आज सात दलको सरकारद्धारा प्रस्तावित तथा पुर्स्थापित संसदद्धारा पारित घोषणापत्रलाई हाम्रो पार्टी १२-बूंदे समझदारी र नेपाली जनताको ऐतिहासिक आन्दोलनको एक विजयकारुपमा स्वागत र र्समर्थन गर्दछ । यो घोषणापत्रले निरंकुश सामन्ती राजतन्त्रका विरुद्ध महत्वपर्ण जनैतिक कदमहरुलाई अभिव्यक्त गरेको छ । यस अर्थमा हाम्रो पार्टी य घोषणामार्फ आंसिक र राजनैतिकरुपमा मात्र भए पनि जनयुद्धको ऐतिहासिक पहलपुर्ववदेखि हामीले उठांउदै आएका धर्म निरपेक्ष राज्यलगायतका कतिपय मांग पुरा भएकोमा गर्वको अनुभूति पनि गर्दछ ।
तर, हामी यहां यो कुरा पनि स्पष्ट गर्न चाहान्छौं कि घोषणापत्रले नेपाल र नेपाली जनताको आवश्यकता र आकंक्षालाई समग्रतामा व्यक्त गर्न सकेको छैन । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने जनआन्दोलनको मर्म र भावनालाई राजनैतिकरुपमा सेरोमोनिएल राजतन्त्रद्धारा संवोधन गर्न खोजिएको छ जुन स्वयं आफैमा समेत अपुग त छंदैछ, त्यसमाथि घोषणापत्रले जनताको राष्ट्रियता र जनजिविकासंग सम्बन्धित आधारभूत समस्याहरुलाई छुंदै नछोएर आफूले आफैलाई पूरै लंगडो साबित गरेको छ ।
देशको राजनीतिमा बढ्दै गएको वैदेशिक हस्तक्षेपको बारेमा केही नबोल्नु, राज्यसत्ताको व्यापक पुनर्संरचना जसमा मुख्यतः नेपाली विशिष्टतामा जातिय आत्मनिर्णयको अधिकार, जातिय क्षेत्रीय स्वशासन र संघात्मक राज्य प्रणालीको आवश्यकताबारे केही नहुनु, जमिन जोत्नेको आधारमा क्रान्तिकारी भूमिसुधारको आवश्यकता र स्वतन्त्र राष्ट्रिय अर्थनीतिबारे केही उल्लेख नहुनु, शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको आधारभूत मौलिक अधिकारकारुपमा स्वीकार्नेबारे कुनै उल्लेख नहुनु तथा दलित र महिलाहरुको विशेषाधिकारबारे केही पनि नबोलिनुले यो घोषणापत्रद्धारा नेपाल र नेपाली जनताले भोगिरहेका आधारभूत दैनिक समस्याहरुको कुनै समाधान नहुने कुरा पनि स्पष्ट देखिन्छ ।
दशवर्षेखि जारी गृहयुद्धको गंभीर समस्या समाधान तथा आशन्न वार्ता र त्यसको दिशाबारे गरिएको आर्श्चर्यजनक मौनताले घोषणापत्र प्रति गंभीर आशंकालाई जन्म दिन पुगेको छ । कहिं यो घोषणापत्रले जनतालाई भ्रम दिई वार्ता, संविधानसभा र समग्र अग्रगामी निकासलाई ओझेलमा पार्ने गंभीर चाल त बोकेको छैन, आम नेपाली जनताले गंभीररुपले सोच्नु पर्ने भएको छ । १२-बूंदे ऐतिहासिक समझदारीलाई उल्लेखसम्म नगरेर आन्दोलनको सम्पुर्ण उपलब्धिलाई रकमी तरिकाद्धारा संसदवादी पार्टीको एकलौटी झोलीमा पार्ने कूनीयतको गन्ध पनि घोषणापत्रमा ह्वासै आएको छ । सात दलले १२-बूंदे समझदारीको मर्म र भावनालाई आफू खूसी पुरै तोड्न खोजेको त होइन, प्रश्न नीकै गंभीर छ ।
उपरोक्त गंभीर प्रश्नहरुलाई वार्ताको टेबल र जनताका बीचमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै हामी यी आधारभूत प्रश्नहरुमा गंभीर वहशका निमित्त सबै राजनैतिक दल, नागरिक समाज, सामाजिक संघ, संस्था, बौद्धिक व्यक्तित्व एवं आम जनसमुदायसंग हार्दिक अपिल गर्दछौ ।
मिति - ०४ जेष्ठ २०६३
प्रचण्ड
अध्यक्ष
ने.क.पा.माओवादी
