म भएर ज्यून खोजें मैले
दुनिया“लाई असैह्य पीडा भएछ
आफ्नो पीडा छताछुल्ल पोखिदिएर होला
मेरो यथार्थमा भुइचालो गएछ
आखिर के कम गरेथें मैले
समयको मागलाई पूरा गरेकै थिए
उसका हरेक निर्देशनलाई शिरोधार्य गर्दै
एक पछि अर्को मृत्यु खेपिरहेथे मैले
तर त्यो मेरो ठूलो भुल रहेछ
वास्तविक जीवनको पहिलो पाइला चाल्न खोजेर होला
मेरा पाइलाहरु अडिग भइरहेछ
हो स्वार्थ र लालसाका झिना त्यान्द्राहरुले
मेरा मानसपटलमा कसिलो डेरा त के जमाउला र !
बरु कोमल मानव हृदयमा आघात पर्ने
कुकर्महरु हुन खोज्ने त होइन !
आफैभित्र डर लाग्छ निसास्सिएर
तै पनि म भएर बाँच्नुको रहरले हो कि
मलाई ठिङग्याउने रहरले हो
बारम्बार झस्किदै लम्किरहेछु
हिजो पाइला र्सार्न नपाउदै ठोकिएथे रे
आज त्यसैको सिको गर्ने नकाम गरेछु
जानेर हुन सक्छ या नजानेर मैले
आफैलाई मृत्युको धुवा भित्र बिलाइदिएछु
अब त नसहेर सकिन्छ नहेरेर
आँखा चिम्लने दुस्साहस गरेर होला मैले
आफूलाई अन्त्यहिन बस्तीतिर डोर्‍याइरहेछु
न कसैले रोक्यो मलाई न सोध्यो नै
किनकि म भएर ज्युनु भित्रको एक्लो यात्रा थियो मेरो
सहकर्मी खोज्ने आवश्यकता नदेखेर मैले
आफूलाई अविरल एक्लो यात्री बनाइदिएछु
भन्छन् भविष्य पछुताएर होइन
वर्तमानको ज्योति चम्काएर पो निर्माण गरिन्छ
त्यसैले होला आजकाल म
भविष्य निर्माणको उच्च उम्मिद लिएर
सडकको किनारै किनार दौडिरहेछु
अतीतका नाउसगैं निरन्तर पौडिरहेछु
किनकि मलाई म भएर बाँच्नु छ
जीवनका हरेक पाइला स्वणीम बनाउनु छ ।