उषाको पहिलो किरणसँगै
रक्तलालीहरु पर्न थाल्नेछन् हरेक बस्तिहरुमा,
पहाडहरुमा र पहाडका टाकुराहरुमा
हरेक दिन यसरी सुरुहुन्छ, छिप्पन्छ र
एउटा हठात् कुण्ठा बोकेर अन्त्य हुन्छ
आफूलाई एउटा शून्य साझमा परिणत गरेर
अनि क्रुर र भयावह रातमा विलय गराएर
यो एउटा दिनको आफ्नै कथा हो
अस्वभाविक नियतिको आफ्नै अनुभूति हो
दिनहरु दिन रहनेछैनन्
जब यिनका इच्छाहरु मर्न थाल्नेछन्
तै पनि अर्धचेतन अवस्थामै
लुछाचुडी भइरहनेछ अभावयुक्त तिनै दिनहरुको
बर्दीमा होस् या एकै लर्कनमा रगत चुस्ने शैलीमा
कुनै ठूलो जमात देखा पर्दछ
निर्धाहरुलाई हकार्छ, लगार्छ र अन्त्यमा थर्काउछ
निमेष भरमै फेरि तिनै प्रकारका
हुलहरु देखा पर्छन्, अनुनय गर्छन या
मानवीयताहरुलाई आफूतिर निर्चोछन्
यसरी भोलिहरु फेरि भोलि रहनेछैनन्
आत्मीयता र ममतामयी दिनहरु दिन रहनेछैनन्
बरु अभ्यस्त लडाइहरु चर्किरहनेछन्
पहाडका सुन्दर टाकुराहरु, शीतल छहारीहरु
एकाएक पसिनाले निथ्रुक्क हुनेछन्
आलो रगत भित्र लुट्पुटिनेछन् र
मानवताको खिल्ली उडाउदै राता बस्तीहरु
निराकार बन्नेछन् असभ्य भइरहनेछन्
धर्तिमा पदार्पण गर्ने हरेक मानवले उचित शिक्षाको साटो
द्धन्द्व युद्ध र लर्डाईहरुको अभ्याससगैं
कलिला हातहरु हात रहनेछैनन्, बरु
यन्त्र संयन्त्र बन्ने अभ्यास गरिरहनेछन्
आमाको मातृत्व बशमा रहनेछैन
उनकै सामु मातृत्व बलत्कारमा पर्छे
ब्वासाहरु खित्का छाडेर रमाइरहनेछन्
जब दिनहरु दिन रहनेछैनन् बरु
घृणा भय त्रास र संवंदनहिनतालाई सकार्दै
तिनै सुन्दर बस्तीहरुलाई ध्वस्त बनाइरहनेछन्
उषाको पहिलो किरणलाई छेक्ने दुश्प्रयास सँगै
सामाजिक संरचना माथि कुठाराघात गरिरहनेछन्
आफ्ना अर्धचेतन् तृष्णाहरुलाई दुनियासामु
निर्धक्क लिइरहनेछन्, निर्धक्क पिइरहनेछन्