आकाशको उचाईमा पुग्ने उच्च उम्मिदसँगै
आरम्भ भएको एक्लो यात्रा
सृजनाको फुलबारीमा फुल्ने चहानासँगै
दौडीरहेको अविरल यात्री
केबल सत्मार्ग र सुमार्गको सम्भावनासँगै
विना प्रकाश गन्तव्य पहिचान गर्न
फेरिपनि,पटक पटक
एउटै भाका र लयमा
उस्तै पहिचान र चिनारीमा
जिन्दगीको बाटैबाटो निरन्तर घस्रदै
पत्थर रुपी अवरोध सहेर
तुफान रुपी विनाससगै
नाङगो पैतला अघि बढिरहेछ
उही एउटा अविरल यात्री
बढाइरहेछ एक्लो यात्रा
भोकाहरुको रोटी बन्ने प्रयाससगै
सुरु भएको यात्रा
पौष माघको जाडो छल्न
न्यानो लुगा बन्ने इच्छासँगै
पसिनै पसिनाले भिजेर
केबल जीवनको भेगाइमा,रेटाइमा
आफूलाई समाहित गर्न
उस्तै इच्छा र चाहनाहरुमा
एकै लक्ष्य र गन्तव्य सहित
आफ्नो पलायनको आशासँगै
सपनाहरुको बिस्कुन छरिरहेछ
उहि एक्लो अविरल यात्री
हाँकिरहेछ उही अविरल यात्रा
सपनाहरु भविष्यको एकमुरी लिएर
सुन्दर समाजको छातामुनी
निस्फीक्री निडर दौडन
अनि आफ्नाहरुको ममतासँगै
आफ्ना धड्कनहरुलाई समाहित गर्न
आँखा झिम्कन नपाउदै
निमेष भरमै ओहर दोहर गरिरहेछ
उही एक्लो अविरल यात्री
पछ्याइरहेछ उही अनन्त यात्रा
मान्छेहरु अनगिन्ती जुधिरहेछन्
स्वार्थ घमण्ड र अहंकार भित्र
पालैपालो पलायन हुँदै
आफ्नाहरुलाई भुलिरहेछन्
तै पनि आफ्नाहरुको खुशी फर्काउन
दुनियाको पाउ समाउदै
बाँचिरहेछ उही अविरल यात्री
साँचीरहेछ आफ्नो जीवन
हाँकिरहेछ उही अविरल यात्रा
निरन्तर
हाँकिरहेछ उही अविरल यात्रा