कालो बादल मडारिदै सुर्यलाइ छोपे जस्तो
समयले तलाई छोप्दा टोलाएर कतै बस्दो
अपजसको घेरा भित्र तिरस्कारको डोको बोकी
भरियाझै लुरुलुरु बेदनाको भारी बोकी
आफैलाई दोषी ठानी पिंजडामा कैद गर्दे
अभागी छस् अविरल तँ दुनियाँलाई दोष नदे ।
समयको पर्खाइमा पलहरु खतम गर्दै
भावनाको डुगांहरु खियाउन पनि छाड्दै
कस्तो रैछ जिन्दगानी परिभाषा बुझ्न खोज्दै
खोक्रा ती आदर्शलाई पछ्याउन पनि छाड्दै
जिन्दगीमा कैल्ये काँही त खुसीसँग बाँच तैले
अभागी छस् अविरल तँ दुनियाँलाई दोष नदे ।
चैतको मौसमस“गै उडाएका सपनाहरु
खै कता छन् दोबाटोमा दुनिया“लाई सोध्न छाड्दे
नत तेरो कर्म ठूलो न त भाग्य रै छ बलियो
कही कतै जिन्दगीलाई मक्याउन पनि छाड्दे
हातमा भए कलम एउटा गीत तैंले लेख्दे
अभागी छस् अविरल तँ दुनियाँलाई दोष नदे ।
असम्भव त्यो गोरेटोमा हिड्ने सपना टुक्रा पार्दै
मन भित्रका भावनालाई निमोठेर जिउँदै मार्दे
कसैसँग मीठो बचन आश गर्न पूरै छाड्दे
के छ भनि सोधे भने राम्रै छ नि सब्लाई भन्दे
के गर्छस त कर्मै खोटो भाग्यलाई दोष नदे
अभागी छस् अविरल तँ दुनियाँलाई दोष नदे ।
स्वार्थको भण्डार भित्र सुःखसँग ज्युन खोज्दै
सहजताको परिभाषा धमिल्याउन छाड्दे
भन्छन् जीवन मूल्यवान छ रे ,
सधैभरी यस्लाईपनि अमिल्याउन छाड्दे
भेटिस् भने दोबाटोमा निर्धक्कले हाँस तैले
अभागी छस् अविरल तँ दुनियाँलाई दोष नदे ।
